देखिने किसुनजी, नदेखिने किसुनजी

 




कृष्णप्रसाद भट्टराईका विषयमा लेख्न मलाई सजिलो छैन। किनभने म उहाँलाई मन पराउँछु। एउटा पत्रकार जब कुनै राजनीतिक नेताप्रति विशेष अनुराग राख्दछ तब उसको लेखनी वस्तुगत रहन सक्दैन। तर मेरा निम्ति कृष्णप्रसाद भट्टराई कुनै राजनीतिक नेता मात्र कहिल्यै रहनुभएन र सौभाग्यवश मलाई पनि किसुनजीले एक पत्रकारका रूपमा मात्र कहिल्यै लिनुभएन। नेपालको सन्दर्भमा प्रायः देखिने, सुनिने वा बुझिने नेता-पत्रकार सम्बन्धका स्वचालित आधारहरूबाट हमेसा मुक्त रहे कृष्णप्रसाद भट्टराईसँग मेरा सम्बन्धहरू। चाहे पञ्चायतकालमा पुल्चोकको चिसो छिँडी होस् वा शक्तिशाली प्रधानमन्त्रीको वातानुकुलित कक्ष होस् वा केही महिनाअगाडि नर्भिक अस्पतालको आइसियु कक्ष होस् - किसुनजीले हमेसा एकनास स्नेहको वर्षा मात्र गर्नुभयो। मलाई यसो लेखिदे, लेखाइदे, देखाइदे भन्ने जस्ता शब्दको त कुरै छाडौं आसयमात्र पनि किसुनजीले कहिल्यै व्यक्त गर्नुभएन। मलाई मात्र किन, यसै पनि पत्रकारहरूलाई किसुनजीले खासै महत्त्व दिएको मलाई सम्झना छैन। आफ्नो विषयमा कसले के लेख्छ र कसले के सोच्छ? यी विषयमा रत्तिभर मतलब गर्नुहुन्न। किसुनजीलाई नेपाली प्रेसले के पो लेख्न बाँकी राख्यो र? किसुनजीले पनि प्रेसलाई के पो भन्न बाँकी राख्नुभयो? एकताका भन्नुहुन्थ्यो, 'पत्रकारहरू चोर हुन्।'


कांग्रेसका अनेकौं महामानव र वामपन्थका कैयौं क्रान्तिकारी वीरहरू पञ्चायती दरबारसँग बिन्तीपत्र हाली कागज गरेर जेलमुक्त भए तर कृष्णप्रसाद भट्टराईले त्यस्तो कुनै कागजमा सही गर्नुभन्दा देशभित्रै जेलमा बस्न रोज्नुभयो। एकप्रकारको अदभूत आत्मविश्वास छ किसुनजीभित्र। को पत्रकारले मलाई के लेखेर के पो नाप्न सक्छ र भन्ने आत्मविश्वास। यो घमण्डझैं देखिने आत्मविश्वास उहाँभित्र त्यसै आएको होइन। किसुनजीको ६ दसक लामो राजनीतिक जीवनमा उहाँको भजन गर्नेहरू गाली गर्नेमा र गाली गर्नेहरू भजन गर्नेमा परिणत भएका छन् - एकपटक होइन, कैयौंपटक। दुनियाँले उहाँका विषयमा आफ्ना धारणाहरू बारम्बार बदलिए पनि स्वयं कृष्णप्रसाद भट्टराई भने आफ्नो मूलभूत आस्था र दृष्टिकोणमा हमेसा-हमेसा हिमालय पर्वतझैं अटल रहनुभएको छ।

कसैले उहाँलाई कुनै बेला भारतमुखी भनेर नेपालभरिका भित्ता रंगाइदिए। उहाँले चुपचाप मुस्काएर सहनुभयो। यतिसम्म पनि जवाफ दिनुभएन कि समकालीन नेपाली इतिहासका ठूला भनिने नेतामध्ये भारतको भूमिमा शरण लिएर राजनीति गर्नुको साटो १४ वर्ष राजाको जेल बस्न स्वीकार गर्ने उहाँबाहेक कोही अर्को माइका लाल छ? इतिहासको बिडम्वना हेर्नुस् - कांग्रेसका अनेकौं महामानवहरू र वामपन्थका कैयौं क्रान्तिकारी वीरहरू पञ्चायती दरबारसँग बिन्तीपत्र हाली कागज गरेर जेलमुक्त भए तर कृष्णप्रसाद भट्टराईले त्यस्तो कुनै कागजमा सही गर्नुभन्दा देशभित्रै जेलमा बस्न रोज्नुभयो। विधिको खेल हेर्नुस् - दरबारमा कैयौं बिन्तीपत्र हालेका कांग्रेसी र वामपन्थीहरू आज चर्को गणतन्त्रवादी भएका छन्, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरू राजतन्त्र छाडेर भागका छन्। तर राजाहरूद्वारा १४ वर्ष जेल कोचिएका कृष्णप्रसाद भट्टराई संवैधानिक राजतन्त्र र लोकतन्त्रको आफ्नो जीवनपर्यन्त अडानमा कायमै हुनुहुन्छ। यो सत्य हो कि आज देशमा किसुनजीका विचारहरूको खासै अर्थ नरहला तर जब-जब नेपालमा मूल्य, मान्यता, नैतिकता, सहिष्णुता र आस्थाको राजनीतिको कुरा उठ्ला तब-तब कृष्णप्रसाद भट्टराईको तस्बिर हाम्रोअगाडि खडा हुनेछ।


तीस-तीस वर्ष पञ्चायतविरुद्ध लडेर प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई नेपाली राजनीतिमा पुलिस, प्रशासन, पैसा र दिल्लीको महत्त्वबारे ज्ञान नभएको होइन। तर उहाँले नेपाली राजनीतिका यी रामवाण औषधी कहिल्यै प्रयोग गर्नुभएन। किसुनजीलाई थाहा थियो - सत्ता राजनीतिका लागि यी औषधी रामवाण हुन्। तर उहाँलाई यो पनि ज्ञान थियो कि देश र जनताका निम्ति यी औषधीको साइड इफेक्ट घातक हुनेछ। अहिले नेपाली राजनीतिमा कोही नेता यस्तो बाँकी छैन जसले 'साधनको पवित्रता'मा किसुनजीको दसांश हैसियत राखोस्। हर थोक रणनीतिक भएको छ, हर थोक चालबाजी भएको छ, र हरथोक एउटा जोक भएको छ।

'हेर्नुस् विजयबाबु, म राम्ररी हिँड्न त सक्दिनँ, सेक्स कसरी गरूँला? तर यहाँका मुर्खहरू रातदिन मेरा विषयमा नानाथरी प्रचार गर्दैहिँड्छन्। यी शुभचिन्तक प्रचारकहरूले नै मेरो सेक्स लाइफको बिँडो थामेका छन्।' जोकको कुरा गर्दा किसुनजीको व्यक्तित्वको एउटा अविभाज्य पाटोको सम्झना हुन्छ - सेन्स अफ गुड ह्युमर, हास्यरसमा स्वाद लिने बानी। कतिपय अवसरहरूमा उहाँ नेपाली सहरिया समाजको चेतनाले (वा मुर्खताले भनौं) पचाउनै नसक्ने कुरा भनिदिनुहुन्छ। आफै उम्मेदवार भएको उपनिर्वाचनको केही दिनअगाडि मैले टेलिभिजनमा उहाँको एउटा अन्तर्वार्ता गरेँ, जुन अन्तर्वार्तामा उहाँले धेरै गम्भीर कुराहरू पनि गर्नुभएको थियो। तर एक ठाउँमा उहाँले मजाकिया तवरबाट 'म स्कच रक्सी खान सांसद बन्न चाहन्छु' भनिदिनुभयो। नेपाली सांसदहरूप्रति कटाक्ष गरिएको त्यो वाक्य नेपाली प्रेसमा वर्षौंसम्म उहाँलाई होच्याउन चाहनेहरूका निम्ति एउटा हतियार बन्यो। रक्सी खान सांसद बन्न चाहने मानिसका रूपमा उहाँलाई चित्रित गरियो। प्रचार गर्नेहरूले यति पनि सोचेनन् कि भट्टराईलाई स्कच मात्र खान सांसद बन्नुपर्ला त? किसुनजीलाई अत्यन्त स्नेह गर्ने जावलाखेल डिस्टिलरीका मालिक विजय शाह किसुनजीका छिमेकी थिए। किसुनजीको एक आवाजमा विजय शाह रक्सीको बोतल होइन मदिराको स्विमिङ पुल पेस गर्ने हैसियत र स्नेह दुवै राख्दथे। अन्तर्राष्ट्रिय विमान चालक कप्तान श्रीराम शर्मा जस्ता मानिस थिए। बैंककको मेवा, स्विट्जरल्यान्डको चिज, जर्मनीको सलामी, बम्बैको आँप, बेलायतको मदिरा - के मात्र मैले वर्षौंसम्म खाइनँ किसुनजीको नाममा, श्रीरामदा'को घरमा।




किसुनजीमा कैयौं कमजोरीहरू पनि छन्। तर हाम्रो समाजको एउटा हिस्साले हमेसा किसुनजीलाई एउटा मजाकिया विदुषकका रूपमा मात्र प्रस्तुत गर्ने चेष्टा वर्षौंसम्म गर्‍यो। मजाकियापन किसुनजीको आवरण हो, सार होइन। एक/दुईपटक मैले उहाँलाई भनेँ पनि, 'किसुनजी, तपाईंको सेन्स अफ ह्युमरलाई बुझ्ने, पचाउने क्षमतामा समाज अहिले छैन। त्यस्ता वाक्य र व्यवहार नगर्नुस्।' सुनेर गम्भीर हुनुभयो किसुनजी र भन्नुभयो, 'विजयबाबु, तपाईंले मेरो बोक्रा मात्र देख्नुभयो, गुदी देख्नुभएन भने समस्या मेरो होइन, तपाईंको हो। फेरि सेन्स अफ ह्युमरमा खराबी के छ? यो त उत्तम मानवीय गुण हो। मानिस गम्भीर हुनुपर्छ तर आफ्नो कर्तव्यमा मात्र। मुहारमा नक्कली गम्भीरता अनि काममा बचकनापन? यसको कुनै अर्थ छ?' सुनेर म अवाक भएँ। त्यस दिनपछि मैले यो विषय कहिल्यै उठाइनँ।


एक जमानामा किसुनजीलाई महिलाहरूसँग जोडेर नानाथरी कुरा आए। उहाँ स्वयंले घोषणा गर्नुभो - म अविवाहित हुँ 'कुमार' होइन भनेर। अलि वर्ष पहिला किसुनजी आफ्नो 'इन्साइड सर्कल'मा महिला र सेक्सका विषयमा स्वाद लिईलिई कुरा गर्नुहुन्थ्यो। वर्षौंसम्म उहाँका मुखबाट यी उडन्ते गफ सुनेपछि मेरो एउटा निश्कर्ष छ - खुसवन्त सिंहले स्कचका बेहिसाब पेगका बारेमा लेख्नु र किसुनजीले महिलाबारे गफ दिनु एउटै कुरा हो। छोटा पेग बडा मेमसाहब अथवा बडा पेग छोटा मेमसाहब टाइपका छाडा लेखनीका निम्ति चर्चित प्रसिद्ध भारतीय लेखक खुसवन्त सिंह यथार्थमा अत्यन्त अनुशासित तवरबाट ड्रिंक गर्ने मानिस हुन्। किसुनजी जो एक अविवाहित पुरुष हुन्, यदि उहाँको सम्बन्ध द्विपक्षीय स्वेच्छाले कुनै महिलासँग भयो भने पनि त्यसमा कसैले टाउको दुखाउनुपर्ने कारण के छ?
एक्लै हुँदा मुड चल्दा किसुजनी मनका कुरा गर्नुहुन्छ। एकचोटि भन्नुहुन्थ्यो, 'हेर्नुस् विजयबाबु, म राम्ररी हिँड्न त सक्दिनँ, सेक्स कसरी गरूँला? तर यहाँका मुर्खहरू रातदिन मेरा विषयमा नानाथरी प्रचार गर्दै हिँड्छन्, यो पनि सोच्न सक्दैनन् कि एउटा वृद्ध जो राम्रोसँग हिँड्न पनि सक्दैन, उसले सेक्स कसरी गर्नसक्छ? एक मनले सोच्छु - राम्रै प्रचार हो। मलाई 'योग्य' त ठानिएको छ, यस उमेरमा पनि। म आफ्नो 'योग्यता'को खण्डन गर्दै किन हिँडूँ? जमाना थियो जब मोज गरियो। अब त यी शुभचिन्तक प्रचारकहरूले नै मेरो सेक्स लाइफको बिँडो थामेका छन्।'

न रूप न रंग, न चाल न ढाल, न वाणी न बचन, न विद्या। आज पनि मलाई अमिताका कैयौं बानी मन पर्दैनन्। विशेषतः किसुनजीलाई मानिसहरूसित भेटघाट गर्न नदिने बानीका बारेमा मैले धेरै गुनासो सुनेको छु। तर अमिता नभएकी भए आजसम्म किसुनजी सम्भवतः बाँच्नुहुने थिएन।
एकपटक तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीसँग नयाँ दिल्लीमा भेट हुँदा उहाँले भन्नुभयो, 'महामहिम, म पनि तपाईंजस्तै सक्कली अविवाहित र तपाईंजस्तै नक्कली 'कुमार' हुँ।' सुनेर अटलजी मस्त हाँसेका थिए। त्यस तहको भारतीय नेतासँग, त्यसरी खुलेर कुरा गर्नसक्ने सम्भवतः उहाँ एक्लो नेपाली हुनुहुन्छ। हाँसखेल मात्र होइन, गम्भीर मामिलामा पनि उहाँको भारतमा त्यत्तिकै इज्जत छ। सन् १९९० मा अन्तरिम प्रधानमन्त्रीका रूपमा भारतको राष्ट्रपति भवनमा उहाँलाई भेट्न आउने दुईवटा केन्द्रीय मन्त्रीले उहाँको खुट्टा छोएर 'पाए लागु किसुनजी' भनेको मैले आफै देखेको छु। तीमध्ये एकजनाको नाम अझै सम्झन्छु - शरद यादव। उक्त प्रसंगका बारेमा किसुनजी भन्नुहुन्थ्यो, 'कतै हाम्रो डाक्टर सा'ब (भ्रमण दलमा संलग्न तत्कालीन अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे) ले अथवा सहानाजी (भ्रमण दलमा संलग्न तत्कालीन मन्त्री श्रीमती सहाना प्रधान) ले बिर्सेर पनि भिपी सिंह (तत्कालीन भारतीय प्रधानमन्त्री विश्वनाथप्रताप सिंह) को खुट्टा छोइदिए नेपालमा त्यसको के हविगत होला?'

मानवीय जीवनका लगभग सबै अनुभूतिहरूलाई त्यसको गहनता, त्यसको 'इन्टेन्सिटी'को अन्तिम विन्दुसम्म पूर्ण रूपले भोगेको मानिस हो - कृष्णप्रसाद भट्टराई। अनुभूति चाहे संघर्षको होस् या प्राप्तिको, सम्झना चाहे भोगको होस् या योगको, पीडा चाहे आफूमाथि गरिएको फोहोरी अन्तर्घातको होस् वा सम्मानको - किसुनजी कुनै पनि अनुभूतिमा टाँस्सिएर, रोकिएर बस्नुभएन। कुनै पनि अनुभूतिले उहाँको अन्तर्मनको सुन्यतालाई छुन सकेनन्। त्यसैले त उहाँलाई कतिपयले सन्त नेता भन्छन्। किसुनजी सन्त हो वा होइन म यसै भन्न सक्दिनँ। नेपालमा राजनीति गर्ने एउटा आमनेताका कतिपय गुणदोष किसुनजीमा पनि पुरापुर भरिएका छन्। दशरथ रंगशालामा खेलेर को पो पेले बनेको छ र? तर पनि किसुनजी नितान्त भिन्न हुनुहुन्छ।


म सानो छँदा पुल्चोकमा उहाँले मलाई पाँच पैसामा पाँचवटा आउने नरिवल पिपी दिनुभएको सम्झना छ। जवानीमा उहाँको हातबाट बडा उदारतापूर्वक अंग्रेजी सराबका पेगहरू ग्रहण गरेँ। यतिका वर्षहरूमा उहाँले मलाई प्रेम मात्र दिनुभयो। एकपटक पद दिन पनि चाहनुभएको थियो। त्यो अफर स्वीकार्ने मूर्खता मैले गरिनँ। प्रेम दिइरहेको मानिससँग पनि कसैले पद लिइरहन्छ र? 'कोही' त आयो बालुवाटारमा जसलाई मैले दिएँ र उसले लिएन भनेर खुसी हुनुभयो। पद नलिएको भोलिपल्ट किसुनजी र अमिता अचानक हाम्रो घर आई चिया खाएर जानुभयो।

पहिला-पहिला अमितालाई देखेर मलाई अचम्म लाग्थ्यो। कहाँ सुसंस्कृत सुसभ्य कृष्णप्रसाद भट्टराई, कहाँ यो अमिता कपाली! न रूप न रंग, न चाल न ढाल, न वाणी न वचन, न विद्या। कस्तो मान्छेसित जोडिएछन् किसुनजी जस्तो लाग्थ्यो। आज पनि मलाई अमिताका कैयौं बानी मन पर्दैनन्। विशेषतः किसुनजीलाई मानिसहरूसित भेटघाट गर्न नदिने बानीका बारेमा मैले धेरै गुनासो सुनेको छु। तर मलाई यो पनि थाहा छ अमिता नभएकी भए आजसम्म किसुनजी सम्भवतः बाँच्नुहुने थिएन। अमिताले अनावश्यक भीड मात्र हटाइनन्, अत्यधिक रक्सी सेवनलाई पनि किसुनजीको जीवनबाट बिदा गर्न निर्णायक भूमिका खेलिन्। त्यो उमेरको मानिसको हेरचाह व्यवहार एकदिन होइन, सधैं मिलाउन कस्तो गाह्रो छ भन्ने कुरा म महसुस गर्न सक्छु। एकदिनका लागि किसुनजीको जय जय गान जसले पनि गर्न सक्छ तर त्यस्तो शरीरलाई सधैंका निम्ति हेरचाह गर्ने जिम्मा लिने काम साधारण होइन। त्यो एउटा गुणका अगाडि अमिताका तमाम अवगुण मेरा नजरमा फिक्का भएका छन्। तैपनि सोच्छु - किसुनजीसँग उहाँका पुराना मानिसहरू भेट्न जाँदा हुन्, कति राम्रो हुँदो हो। त्यस्तो करकसा भनिएकी अमिता मलाई र सुषमालाई भने हमेसा-हमेसा अत्यन्तै राम्रो व्यवहार गर्छे। अमिताको मलाई एउटा ठूलो गुन छ, उसले गर्दा मैले साइबाबा लगायत गुरुहरूको आध्यात्मिक बाटो देखेँ।

आदरणीय बोधिसत्व स्वामी अरुणप्रति पनि किसुनजीको ठूलो प्रेम छ। हो यिनै स्वामी अरुणको आयोजनामा गएको आइतबार ओसो तपोवनमा किसुनजीले आफ्नो ८६ औं जन्मदिन मनाउनुभयो। राष्ट्रपतिदेखि लिएर माओवादी अध्यक्षसम्म एउटै समारोहमा उपस्थित भए। त्यसदिन माओवादी अध्यक्ष प्रचण्ड आफ्नो 'पुष्पकमल' रूपमा हुनुहुन्थ्यो। कुन्नि किन हो मलाई उनको शिष्टताले छोयो जब उनले भने, 'किसुनजी नेपालको सच्चा राष्ट्रवादी र लोकतन्त्रवादी नेता हुन्।' आफूसँग राजनीतिक रूपले फरक धारमा उभिएको मानिसको जन्मदिनमा आउनु, खुलेर प्रशंसा गर्नु सानो दिल भएको नेताले सक्दैन। विखण्डनको संघारमा उभिएको नेपाली समाजलाई परस्परमा सम्मान र सहिष्णुताको आजभन्दा बढ्ता खाँचो इतिहासमा कहिल्यै थिएन।

राष्ट्रप्रेम र प्रजातन्त्रका अनवरत तपस्वी किसुनजीलाई जीवित छँदै जुन सम्मान सबै पक्षबाट तपोवनमा प्रकट गरियो, त्यसबाट आसा जाग्दछ कि नेपालमा अहिंसा, सहिष्णुता र लोकतन्त्रको दियो अझै निभेको छैन। हामी सबैले र विशेषतः सबैभन्दा बढी आसा गरिएका र जिम्मेवारी भएका नेता प्रचण्डले किसुनजीको जीवनबाट अहिंसा, सहिष्णुता र उदारताका अंशहरू आफू र आफ्नो पार्टीमा समाहित गराउनुभएमा सारा राष्ट्रको व्यक्तित्व बढ्ने थियो।

मलाई थाहा छ - आज राजनीतिमा किसुनजीको जीवनदर्शनको खासै महत्त्व छैन। मानिसहरू किसुनजीप्रति ओठेभक्ति प्रकट गर्न त सक्दछन्, तर उहाँका मूल्य मान्यतालाई अपनाउने साहस गर्न सक्दैनन्। तर मलाई यो पनि थाहा छ - अहिंसा, आपसी सम्मान र सहिष्णुताबाहेक नेपालको निम्ति अर्को कुनै बाटो छैन। सम्झन्छु - म सानो छँदा पुल्चोकमा किसुनजीको छिँडीमा पहिलोपटक बसेको '। र, सम्झन्छु त्यसपछिका कैयौं महिनाहरू, वर्षहरू र दसकहरू ' सबथोक सपनाझैं लाग्छ।

नेपालको भावी पुस्तालाई यो कुरा विश्वास गर्न पनि गाह्रो हुनेछ - कुनै जमानामा नेपालमा एउटा यस्तो पनि नेता थियो जो बाहिरबाट हेर्दा हमेसा हल्काफुल्का कुरा गर्ने मजाकिया किसिमको मानिसझैं देखिए तापनि राष्ट्रियता र प्रजातन्त्रप्रति उसको आस्था फलामको पर्वतभन्दा कठोर थियो।

ह्यापी बर्थ डे टु यु, किसुनजी। 

विजय कुमार- प्रकाशित: ४ पुस २०६६ ०४:३८ शनिबार


0 Comments

Oldest