पृथ्वीनारायण क्याम्पसको समस्याले विद्यार्थीलाई मार नपार्न नेविसंघको चेतावनी

 जेठ ३, २०७८ सोमबार

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको समस्याबारे ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधान र विकल्प खोज्न आग्रह गरेको छ । 

नेविसंघ क्याम्पस इकाई अन्तर्गत व्यवस्थापन संकायका सभापति विवेक पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।

‘यथाशीघ्र महंगो ईन्टरनेट शुल्क तिरेर अनलाइनमा उपस्थित विद्यार्थीहरु आंशिक शिक्षकहरुको हडताल, पूर्णकालिन शिक्षकहरुद्वारा पनि तालिकाअनुसार कक्षा सञ्चालन नहुने समस्या, त्रिविको अन्योलपूर्ण निर्णयको दीर्घकालीन समाधान र विकल्प खोजियोस्’, विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीसँग शिक्षण शुल्क लगायत शुल्कहरु उठाएपश्चात् सहजरुपमा शिक्षा प्रदान गर्न क्याम्पस कर्तव्यच्यूत भएको भन्दै नेविसंघले आपत्ति प्रकट गरेको छ । 

‘परीक्षा सञ्चालन नहुँदै अर्को तहको कक्षा सञ्चालन गर्न निर्देश दिने त्रिविले किन अनलाइन परीक्षा गर्न सक्दैन ? बन्दाबन्दीमा नयाँ तहका लागि आवश्यक सामाग्री बिना अनलाइन कक्षा कसरी सञ्चालन गर्न ?’, विज्ञप्तिमार्फत प्रश्न गरिएको छ ।  

कोरोना कहरमा मानसिक तनाव र प्रभावको बीचमा परेका विद्यार्थीलाई गञ्जागोल निर्णय गर्नु विडम्वना भएको भन्दै सभापति पराजुलीले संयुक्त विद्यार्थी संगठन, क्याम्पस प्रशासन र आंशिक शिक्षकहरु बिचको सहमति जेठ २ गतेसम्मलाई मात्र हो ? भनि प्रश्न गरेका छन् ।

क्याम्पसको समस्याले आम विद्यार्थीलाई मार नपार्न नेविसंघले माग गरेको छ । यो महामारीमा सरकार अनुत्तरदायी, अविवेकी र अत्याचारी भएको भन्दै अवस्थामा सबै शिक्षित विद्यार्थी वर्गलाई चनाखो हुन समेत नेविसंघले आग्रह गरेको छ । साथै आफ्नो अधिकारको आवाज बुलन्द पार्दै सजग, सचेत र सुरक्षित रहन पनि नेविसंघले आग्रह गरेको छ ।

Published by: 

गण्डकी भ्वाइस  

जेठ ३, २०७८ सोमबार

विज्ञप्ति


0 Comments